नेपाल पत्रकार महासंघ म्याग्दीको सातौं साधारणसभा ,अतिक्रमण हटाउने अभियान शुरु हुन्छ – बेनी नगरप्रमुख केसी

  म्याग्दी न्युज संवाददाता

बेनी। म्याग्दीको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले अतिक्रमण हटाउने र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने अभियान शुरु गर्न लागेको बताउनुभएको छ ।नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको शनिबार बेनपा ६ डम्मरामा भएको सातौ साधारणसभामा बोल्दै नगर प्रमुख केसीले अतिक्रमण भएका सार्वजनिक ठाउँको पहिचान गरिएको र अब डोजर चलाउने बताउनुभयो ।

कालीपुल, जिल्ला प्रशासन कार्यालय अगाडी र नगरपालिका अगाडीको मोटरेबल पुलको अतिक्रमण हटाउन सार्वजनिक सूचना जारी गरेको र अब केही दिनमै डोजर चलाउने बताउनुभयो ।संघीयतालाई बलीयो बनाउन स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत पहिचान गरि जनतालाई भार नपर्ने गरी आयस्रोत बढाउनुको विकल्प नभएको बताउनुभयो । पछैलाई केन्द्र बनाएर बेनीको पर्यटन विकासको योजनाका लागि निजी क्षेत्रसँग पनि समन्वय गरेको नगर प्रमुख केसीले बताउनुभयो ।

मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्राकृतिक स्रोत साधनको पहिचान र त्यसलाई परिचालन गरेर पालिकाको आम्दानी बढाउने प्रयासमा रहेको बताउदै यसका लागि सञ्चार जगतबाट साथ र सहयोगको अपेक्षा गर्नुभयो । स्थानीय तहका प्रमुखहरुले म्याग्दीको पत्रकारिताको संरक्षण र प्रर्वद्धनका लागि महासंघ लगायत सरोकारवालासँग समन्वय गरेर नीति नियम र योजना बनाउने प्रतिवद्धता जनाउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा र जिल्ला हुलाक अधिकृत अमृत सुवेदीले अन्य ठाउँको भन्दा म्याग्दीको पत्रकारिता सकारात्मक र रचनात्मक भएको भन्दै अझै सुधार गर्न सुझाव दिनुभयो ।


नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य छवीलाल तिवारी, गण्डकी प्रदेश सदस्य तारानाथ शर्माले श्रमजिवी पत्रकारको हक हित र संरक्षणका साथै पत्रकारमैत्री कानुन निर्माणमा जोड दिनुभयो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र गैरसरकारी संस्था महासंघका अध्यक्ष दिपक पौडेलले पत्रकारिता मार्फत सम्भावनाको उजागर, समस्याको पहिचान, खबरदारीका साथसाथै जिल्लाको विकास, शुसासन र सम्बृद्धीका मुद्दामा सामाजिक संघ संस्थाले सहकार्य गर्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका पुर्व अध्यक्ष तारानाथ शर्माले पत्रकारितालाई दलिय र व्यवसायिक स्वार्थभन्दा माथी लैजानुपर्ने तथा पत्रकारहरुले आत्मसमिक्षा गर्दै युग अनुसार परिवर्तन हुनुपर्ने बताउनुभयो ।शाखा अध्यक्ष प्रकाश पौडेलले बेनी नगरपालिकाले पत्रकार महासंघलाई भाडामा उपलब्ध गराएको जग्गामा रहेको भवन अतिक्रमण भएको र अतिक्रमण हटाउन सरोकारवालाबाट अपेक्षाकृत सहयोग नहुँदा महासंघको भवन निर्माणका लागि गत वर्ष प्रदेश सरकारले बिनियोजन गरेको रु। दश लाख बजेट फिर्ता भएको र यस वर्ष बिनियोजन भएको बजेट कार्यान्वयनमा पनि चुनौति रहेको हुँदा सहजिकरणका लागि अनुरोध गर्नुभयो ।

साधारणसभाले सचिव सन्तोष गौतमको प्रगति र कोषाध्यक्ष अमित विश्वकर्माले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ । यसैगरी म्याग्दीका विकास आयोजनामा भएको ढिलासुस्ति हटाउन सरोकारवालाहरुको ध्यानाकर्षण, पछै क्षेत्रलाई केन्द्रित गरेर पर्यटन विकासमा हातेमालो गर्न र स्थानीय तहको सञ्चार सम्बन्धि कानुनलाई पत्रकार मैत्री बनाउन आव्हान गर्ने लगायत पाँच बुदे विशेष प्रस्ताव परि साधारणसभाले पारित गरेको छ ।शाखाले बेनीको कार्यालयमा मिडिया सेन्टर स्थापना, पत्रकार आपतकालिन कोष स्थापना लगायतका गतिबिधि गरेको उपाध्यक्ष हरिकृष्ण गौतमले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार