पोखराको आकाशमा १५ देशका १७ हट एयर बलुन उड्दै

  म्याग्दी न्युज संवाददाता

पोखरा । नेपालमै पहिलोपल्ट पोखरामा पुस ९ देखि १७ सम्म हुने बीवाईडी अन्तर्राष्ट्रिय बलुन महोत्सवमा नेपालसहित १५ देशका १७ वटा हट एयर बलुन उड्ने भएका छन् । नेपालमा हट एयर बलुन सञ्चालन गरिरहेको एकमात्र कम्पनी बलुन नेपाल प्रालिले पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो ।

बलुन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा–२४ को लौरुकदेखि चंखपुरसम्मको तीन किलोमिटर क्षेत्रमा महोत्सव हुनेछ । महोत्सव अवधिभर हरेक दिन सूर्योदय र सूर्यास्तको समयमा हट एयर

बलुन सञ्चालनमा आउनेछन् । नियमित उडानका बेला ९ हजार फिटमाथिसम्म पुग्ने भए पनि महोत्सव अवधिभर भने ५ हजार फिटसम्म मात्रै पुग्नेछ । उडान समय ३० देखि ४० मिनेटको हुन्छ । उडान अवधिमा माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि हिमाल, पोखरा उपत्यका, फेवाताल, सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ ।

साहसिक खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर महोत्सव आयोजना गरिएको महोत्सवका संयोजक एवं पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनुभयो ।

उहाँका अनुसार महोत्सवमा नेपालसहित अमेरिका, बेलायत, स्पेन, लिथुआनिया, थाइल्यान्ड, भियतनाम, फ्रान्स, नेदरल्यान्ड्स, कोरिया, जापान, मलेसिया, इटली, ब्राजिल र अस्ट्रेलियाका पाइलट सहभागी हुनेछन् । नेपालबाहेकका पाइलटले आफ्नै बलुन लिएर पोखरा आउनेछन् । विदेशका १५ र बलुन नेपाल प्रालिले पोखरामा सञ्चालन गरिरहेको २ गरी १७ वटा बलुन महोत्सव अवधिभर उडाइनेछ ।

‘केही पाइलट आउने क्रम सुरु भइसकेको छ,’ महोत्सवबारे जानकारी दिन शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पहारीले भने, ‘पोखरालाई साहसिक खेलकुदको गन्तव्य बनाउन यस महोत्सवले थप टेवा पुर्‍याउँछ ।’

महोत्सव अवधिमा बिहान ६ देखि ९ बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म विभिन्न देशको प्रतिनिधित्व गर्दै बलुन पाइलटहरूले हट एयर बलुनको उडान भर्ने छन् । बेलुका ७ देखि ८ बजेसम्म ‘बलुन नाइट ग्लो’ गरिनेछ । महोत्सव स्थलसम्म जानआउनका लागि डिहिकोपाटनबाट निःशुल्क सटल बसको व्यवस्था गरिएको छ ।

महोत्सवमा हरेक दिन सांगीतिक कार्यक्रम, फुड स्टल, मेला र विभिन्न खेलसमेत हुनेछन् । महोत्सवमा कलाकारहरू दीपक बज्राचार्य, राजु लामा, एलिना चौहान, कुमा सागर, कविता नेपाली, काटुन क्रुजको प्रस्तुति रहनेछ । बेली नृत्यलगायत थप स्थानीय कलाकार र ब्यान्डको सांगीतिक प्रस्तुति पनि महोत्सवमा रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा पुस ९ देखि ११ सम्म विभिन्न ब्यान्डसहितको प्रस्तुति र पुस १२ देखि १६ सम्म बलुन उडान तथा विभिन्न सांस्कृतिक कार्यकम हुनेछन् । पुस १७ अर्थात् अंग्रेजी नयाँ वर्षमा कलाकार कुमार सागरको सांगीतिक प्रस्तुतिसहित कार्यक्रम समापन हुनेछ । त्यस दिन राति आतसबाजी र बलुनमै डिजे संगीत पनि प्रस्तुत गरिनेछ । महोत्सवमा विभिन्न खानाका परिकारसहितका अन्य केही स्टल रहेन संयोजक पहारीले बताउनुभयो । काठमाडौंको कुमारी नृत्य र बज्रयोगिनी नृत्य पनि महोत्सवमा प्रस्तुत हुनेछन् ।

उद्घाटनको अवसरमा पुस ९ मा पामे क्षेत्रको भकुन्डेदेखि विभिन्न जनजातिको वेशभूषासहितको झाँकीसमेत प्रदर्शन हुने भएको छ । पोखरामा बलुन नेपाल प्रालिले सन् २०१८ देखि व्यावसायिक रूपमा हट एयर बलुन सञ्चालन गर्दै आएको छ ।

महोत्सवको ब्रान्ड एम्बासडरमा कलाकार राजेश हमाल र प्रियंका कार्की हुनुहुन्छ। महोत्सवको स्थानीय संयोजकका रूपमा फेवा क्लब छ । विद्युतीय गाडी उत्पादक कम्पनी बीवाईडीको मुख्यः प्रायोजनमा हुने महोत्सवलाई सफल पार्न पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश प्रवर्द्धक छन् । क्रिजम्याटिक इन्टरटेन्मेन्ट महोत्सवको प्रमुख इभेन्ट व्यवस्थापकको रूपमा छ ।

बलुन नेपाल प्रालिका अध्यक्ष विक्रम वाडेले मनोरम दृश्य, मौसम अनुकूल, यातायातको सहज पहुँच र पर्याप्त पर्यटकीय पूर्वाधार भएको सहर भएकाले महोत्सवका लागि पोखरा रोजेको बताउनुभयो।

‘बलुन फेस्टिभलले अन्तर्राष्ट्रियस्तरमा पोखरा र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्छ,’ उहाँले भन्नुभयो, ‘नेपालको संस्कृति विश्वमाझ पुर्‍याउने र हट एयर बलुनको क्षेत्रमा नेपाललाई स्थापित गर्ने पनि महोत्सवको उद्देश्य हो ।’ महोत्सवको सफलतालाई हेरेर हरेक वर्ष आयोजना गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । विदेशबाट पाइलट ल्याउन झन्झटिलो भएको भन्दै नेपालमै बलुन पाइलट उत्पादन गर्ने तयारी गरिरहेको उहाँको भनाइ छ ।

अंग्रेजी नयाँ वर्षमा लेकसाइडमा हुने सडक महोत्सवमा आउने पर्यटकका लागि पनि थप आकर्षणका रूपमा बलुन फेस्टिभलले भूमिका खेल्ने बलुन नेपालका सञ्चालक सविन महर्जनले बताउनुभयो । ‘अमेरिका, बेलायत, थाइल्यान्डमा हुने यस्तो फेस्टिभलमा लाखौंको सहभागिता हुने गरेको छ,’ उहाँले भन्नुभयो, ‘नेपालमा पनि आन्तरिक र बाह्य पर्यटक भित्र्याउन महोत्सवले भूमिका खेल्नेछ ।’ गत फागुनमा थाइल्यान्डमा भएको ‘इन्टरनेसनल बलुन फियस्ता’मा नेपालका तर्फबाट बलुन नेपालले सहभागिता जनाएको उहाँले सुनाउनुभयो ।

महोत्सव अवधिभर फेवातालपट्टिको आकाशमा बलुनबाहेक अन्य हवाई उडानका गतिविधिमा रोक लगाउने गरी नागरिक उड्डयन प्राधिकरणले ‘नोटाम’ जारी गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक योगेन्द्र कुँवरले महोत्सव अवधिमा बलुन उड्ने हवाई क्षेत्रमा प्याराग्लाइडिङ, अल्ट्रालाइट, हेलिकोप्टरको उडान रोकिने जनाए । ‘हवाई सुरक्षाका दृष्टिले रिस्क फ्रि जोन बनाएका छौं,’ उहाँले भन्नुभयो।

विश्वमै सबैभन्दा पुरानो र सुरक्षित उडान हट एयर बलुन नै रहेकाले सुरक्षाको हिसाबले चिन्ता गर्नु नपर्ने बलुन नेपाल प्रालिका सञ्चालक विष्णुबहादुर ढकालको भनाइ छ । महोत्सवलाई भौतिक र प्राविधिक रूपमा सुरक्षित बनाउने उपाय अपनाइएको उनले उल्लेख गर्नुभयो । बलुन फेस्टिभल पोखरालाई संसारभर चिनाउने अवसरका रूपमा रहेको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठको दाबी छ ।

पोखरामा सन् २०१८ नोभेम्बर १६ बाट हट एयर बलुनको व्यावसायिक उडान सुरु भएको थियो । कोरोना महामारीको समयमा भने बन्द भएर पुनः सञ्चालनमा आएको थियो । बर्खाका तीन महिना असार, साउन र भदौबाहेक बाँकी ९ महिना मौसम अनुकूल हुँदा बलुन उडाइन्छ । २१ मिटर अग्लो बलुनको तल्लो भागमा ३२ वर्गफिटको बास्केट जडान गरिएको छ ।

बास्केटमा एक पटकमा ८ जनाले यात्रा गर्न मिल्छ । यसअघि काठमाडौंमा सन् १९९८ देखि २००३ सम्म सनराइज बलुनले व्यावसायिक रूपमा हट एयर बलुन सञ्चालन गरे पनि प्राविधिक अप्ठेरो र अन्य कारणले बन्द भएको थियो । नेपालमा पहिलोपल्ट भने सगरमाथा क्षेत्रमा सन् १९९१ मा विदेशी नागरिकको समूहले हट एयर बलुनमा उडान भरेका थिए । हाल बलुन नेपालका पाइलट पनि विदेशी नै छन् । कान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार