मुनामा दुई दिने पत्रकारिता एवम् उद्घोषण कला तालिम सम्पन्न

बेनी आइतबार चैत्र २४ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा संचालित पत्रकारिता पुनःताजगी एवम् उद्घोषण कला तालिम सम्पन्न भएको छ ।


गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दीको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा शुक्रबारदेखी सुरु भएको तालिम शनिबार समापन भएको हो । तालिममा गाउँपालिकाका ७ वटै वडाका ३० जनाको सहभागिता रहेको थियाे ।

तालिमको समापन कार्र्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले स्थानीय तह र वडा स्तरमा पत्रकारिता तथा सञ्चार माध्यमको पहुँच बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले तालिमले विकास, शुसासन र सकारात्मक विषयको प्रचारप्रसार तथा विकृति, बेथिती र विसंगतिलाई खबरदारीका लागि पत्रकारिताको सक्रिय भूमिका बढाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले स्थानीय तहको गतिबिधिमा सञ्चार माध्यम र पत्रकारिताको माध्यमबाट निगरानी बढाउनुपर्नेमा जोड दिनुभएको थियो । प्रमुख प्रशासकिय अधिकृत शर्माले गाउँपालिकाको बजेट,निति तथा कार्यक्रम बारे जानकारी गराउनुभएको थियो । साथै उहाँले गाउँपालिकाबाट विनियोजित योजनाको कार्य सम्पादनको प्रगति बारे जानकारी गराउँदै कर्मचारीको अभाव र दक्ष प्राविधिकको अभावले कार्य सम्पादन र याेजना कार्यान्वयनमा समस्या भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले संघीयता कार्यान्वयनसँगै गाउँघरमा आएका सरकारको निगरानी, खबरदारी र रचनात्मक कामको प्रर्वद्धनका लागि पत्रकारिता गाउँ केन्द्रित भएको बताउनुभयो ।


कार्यक्रममा प्रशिक्षार्थी चुनदेबी विक र दलमान छन्त्यालले तालिमले व्यक्तीत्व विकासमा ठुलो सहयोग पुगेको बताउँदै आफुहरुले तालिममा सिकेका ज्ञान सिपलाई व्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।


समापन कार्यक्रममा आयोजक म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष कमल खत्रीले दुर्गम गाउँका गतिविधिहरुलाई सञ्चार माध्यम संग जोड्न र व्यक्तीत्व विकासका लागि तालिमको आयोजना गरेको बताउनुभयो ।



तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार