बेनीमा ४१औं पुष्पलाल स्मृति दिवस मनाइयो

म्याग्दी,बुधबार साउन ८ गते । म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलबार ४१औं पुष्पलाल स्मृति दिवस मनाइएको छ । ‘संसारका श्रमिकहरु एकजुट होऔं’ भन्ने मूल नारासहित नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी म्याग्दीद्वारा विचार गोष्ठीको आयोजना गरी दिवस मनाइएको हो ।

नेकपाको संस्थापक तथा महासचिव स्वर्गीय पुष्पलालको फोटोमा माल्यार्पण गर्दै नेकपा गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द नेपालीले देश अहिले पुष्पलालले देखाएको बाटोमा हिँडिरहेको बताएका छन् । उनले पुष्पलालको देखेको सपनालाई साकार पार्नुपर्ने बताउँदै ७ सय ६१ ओटै सरकारहरु जनताको पक्षमा काम गर्नका लागि सक्षम हुनुपर्ने बताए । पुष्पलालको नीति तथा वर्तमान सरकारलाई सफल बनाउन सबै नेता कार्यकर्ता लाग्नुपर्ने उनको भनाइ छ ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका गण्डकी प्रदेश सदस्य तथा पूर्व सांसद नवराज शर्माले पुष्पलालकै नीति अनुसार आज मुलुकमा कम्युनिष्टको बलियो सरकार बनेकाले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताएका थिए । कार्यक्रममा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले ‘पुष्पलालदेखि पछिल्लो परिवर्तनसम्म’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि बुद्धिजीवीद्वय तारानाथ शर्मा र चन्द्रबहादुर घिमिरेले टिप्पणी गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालले पु¥याएको योगदानबारे चर्चा गरेका थिए । नेकपाका जिल्ला अध्यक्ष पौडेलको अध्यक्षता र सचिव हरिकृष्ण श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य बालकृष्ण सुवेदीले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार