भकिम्लीमा एनसेलको टावर मर्मत गरेर फर्किएको गाडीमा अज्ञात समूहद्वारा आगजनी

म्याग्दी, विहिबार कात्तिक ९ गते । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीस्थित मुसुङडोलेमा रोकिराखेको गाडीमा गएराती अज्ञात समूहद्वारा आगजनी भएको छ । बिहीबार मुसुङडोलेमा रहेको एनसेलको टावर मर्मत गरेर फर्किएको बा १३ च ८४३४ नम्बरको बोलेरो जीपमा राती करिब २ बजेतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

एनसेल टावर मर्मतको काम सकेर स्थानीयको घरमा मर्मत टोली बास बसेको र नजिकै सडकमा रोकिराखेको अवस्थामा उक्त गाडीमा आगजनी भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिनुभयो । आगजनी भएको खबर आएलगत्तै कार्यालयबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा ११ जनाको टोली घटनास्थलमा परिचालन गरिएको उहाँले बताउनुभयो । अहिले मुचुल्का उठाउने काम भैरहेको र घटनाको विषयमा स्थानीयसँग सोधपुछको गरी अज्ञात समूहको खोजीकार्य सुरु गरिएको प्रहरीको भनाइ छ ।

आगलागीबाट भाडामा लगिएको उक्त बोलेरो जीप जलेर पूर्णरुपमा ध्वस्त भएको प्रनाउ मरासिनीले बताउनुभयो । मध्यरातमा गाडीमा आगजनी भएको हुँदा कसले गरेको हो भन्ने खुल्न सकेको छैन । एनसेलको टोलीले धौलागिरी क्षेत्रको पर्वत र बागलुङमा एनसेलको टावर मर्मत गरी म्याग्दीमा आएको थियो । टावरको मर्मत कार्य भने सकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार