रघुगंगाको रायखोरमा मिलन सामुदायिक होमस्टे

बेनी, शुक्रबार माघ २४ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–६ रायखोरमा होमस्टे सुरु भएको छ । धौलागिरी सेञ्चुरी पदमार्ग अन्तरगत पर्ने रायखोर भ्रमणमा जाने पर्यटक र पाहुनाको सुबिधाका लागि मिलन सामुदायिक होमस्टे सुरु भएको हो ।

गण्डकी प्रदेशको उद्योग, वन वातावरण तथा पर्यटन मन्त्रालयको सहयोगमा होमस्टे सञ्चालनका लागि सामुदायिक भवन निर्माण भएको छ । सामुदायिक भवनमा पर्यटकलाई स्वागत गरि खाना, खाजा खुवाएर व्यक्तिका घरमा बाँडेर बस्ने व्यवस्था मिलाएको होमस्टेकी अध्यक्ष बेलमाया पुनले बताउनुभयो ।

डिभिजन वन कार्यालयको १० लाख, रघुगंगा गाउँपालिकाको एक लाख ४२ हजार ६२२ र समुदायको दुई लाख ८६ हजार २४७ रुपैयाँ गरि कुल १४ लाख २७ हजार ८६६ रुपैयाँको लागतमा भवन निर्माण भएको हो ।

भवनको बिहीबार नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा र गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुभएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो । सात घर परिवार सामुदायिक होमस्टेमा आवद्ध भएको अध्यक्ष पुनले बताउनुभयो ।

मगर समुदायको बाहूल्य बसोबास भएको रायखोर गाउँको पृष्ठभूमिमा धौलागिरि हिमाल देख्न सकिन्छ । स्थानीय खानाका परिकारको स्वाद चखाउने होमस्टे सञ्चालकको योजना छ । एकान्त वातावरण, मगर कला र संस्कृति यो होमस्टेको आकर्षण हो ।

झिँ, पाखापानी, कोटगाउँ हुदै रायखोर पुग्न सकिन्छ । तीन वर्षअघि म्याग्दी उद्योग वाणिज्य संघले पहिचान गरेको धौलागिरि सेञ्चुरी पदमार्गमा रायखोर गाउँ पर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार