गाउँपालिका अध्यक्षले खने व्यक्तिगत लगानीमा ३ किलोमीटर बढी सडक

दलप्रसाद तिलिजा
म्याग्दी,मंगलबार फागुन १३ गते ।
म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलाको चेन्डाँडा,सीमफाँट, भौसरा र चुतर्नीमा सडक पुगेको छ । स्थानीयबासीको अनुरोधमा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीको आफ्नो ब्यक्तिगत लगानीमा विस्तार गरेको सडक सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।


गाउँको चेन्डाँडाबाट विस्तार गरिएको मोटरबाटो सिद्धनाथ, तल्लो लिला हुँदै चुतर्नी जोडिएको स्थानीय खिम फगामीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका अध्यक्ष भण्डारीले ५ लाख ९ हजार रुपैयाँको लागतमा तीन किलोमिटर बढी सडक विस्तार गरेको बताउनुभयो ।
‘भविस्यमा मर्मतको प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ,‘घर–घरमा सडक पुग्ने छ’ फगामीले भन्नुभयो । सडक विस्तारसँगै बेगखोला रिङरोडमा परिणत भएको छ ।

बेगखोलाका विभिन्न बस्तीबाट छिमेकी भगवती, बेगखोला हुदै बेनी र पोखरेबगरतर्फ जाने सहज भएको छ भने एक ब्स्तीबाट अर्को बस्तीमा आवतजावत गर्न मिल्ने स्थानीयको भनाई छ ।
साविकको बेगखोला गाविसको वडा नं ३ सीमफाटमा ६० घरधुरी, भौसरा र चुतर्नीका ४० घरधुरी लाभान्वित भएका छन् । सडक विस्तारको क्रममा महादेव मावि नजिकबाट निकासामा समस्या भएपछि गाउँखोलाको नजिक महादेव मावि जाने मोटरबाटो पसारे हुदै भौसरा र चुतर्नी ओखलेमा टुगिंएको छ।


स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष भण्डारीको प्रतिबद्धता अनुसार चेन्डाँडाबाट खोलिएको बाटोले बस्तीका बासिन्दालाई सहज भएको छ । सिम देखि भौसरासम्मको सडक विस्तार गर्ने प्रतिबद्धता पुरा गरेसँगै मर्मतसम्भारमा समेत स्थानीयलाई सघाउने अध्यक्ष भण्डारीले बताउनुभयो ।‘मैले प्रतिबद्धता जनाएअनुसार काम गरेको छु,‘जनताको आवश्यकता अनुसारका पूर्वाधारमा सघाउँछु’ भण्डारीले भन्नुभयो ।


उहाँले जनतालाई गाउँपालिकाबाट आवश्यकतासँगै ब्यक्तिगत रुपमा समेत बोलेका प्रतिबद्धताहरु पुरा गर्ने अध्यक्ष भण्डारीको भनाई थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले लक्ष्य अनुसारका योजनाहरुलाई समयमै सम्पन्न गर्न अनुरोध गर्नुभएको थियो । सोही अवसरमा विभिन्न सांस्कृति कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।


यसअगाडी आफ्नो प्रतिबद्धता अनुसार गाउँपालिका अध्यक्ष भण्डारीले रघुगंगा गाउँपालिका–६ पाखापानीमा चार लाखको लगानीमा पाखापानीको फुलडाँडा–औल गाउँ जोड्ने करिब किलोमिटर बढीको सडक विस्तार गर्नुभएको थियो । सडक विस्तार संगै ६० घरधुरी लाभाविन्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार