पुन दम्पत्तीद्धारा विवाह खर्च कटाएर ओमकुमारी शान्ति कोष सहित विभिन्न सामाजिक संघ संस्थालाई सहयोग

बेनी ,शुक्रबार फागुन १६ गते । यहाँका एक दम्पत्तीले विवाहमा हुने फजुल खर्चलाई कम गर्दै विभिन्न सामाजिक संघ संस्थालाई आर्थिक सहयोग गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरका बचन र इन्दीरा पुनले बिवाहमा हुने फजुल खर्च कटाएर शुक्रबार म्याग्दीका विभिन्न संघ संस्थालाई चार लाख तीस हजार रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको हो ।

शुक्रबार म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई दुई लाख २२ हजार २ सय २२ रुपैयाँ तथा पत्रकार महासंघ म्याग्दी शाखा, चिमखोला समाज, मगर संघ म्याग्दी र गलेश्वर आमा समूहलाई ५१ हजार रुपैयाँका दरले सहयोग गर्नुभयो ।

अष्ट्रेलियमा बस्दै आउनुभएका पुन दम्पत्तीको बिवाहको अवसरमा गलेश्वरमा आयोजित कार्यक्रममा पुन दम्पत्ती र उहाँका अभिभावकहरुले संघ संस्थाका प्रतिनिधिहरुलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । छोराको विवाहमा हुने भडकिलो खर्चलाई कम गरी बचेको रकम विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय संघसंस्थालाई आर्थिक सहयोग गरिएको बचनका बुबा बमबहादुर पुनले बताउनुभयो । सहयोग संगै पुन दम्पत्तीलाई विपन्न म्याग्देलीको उपचारमा सघाउँदै आएको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले बिधान अनुसार संरक्षक सदस्यता प्रदान गर्ने अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले पुन परिवारले बिवाह खर्च कटाएर सामाजिक संघ संस्थालाई सहयोग गरेर नमुना काम गरेको बताउनुभयो । उहाँका बुवा बमबहादुर र आमा गलेश्वरमा ब्यापार गर्दै आउनुभएको छ । विभिन्न सामाजिक संघसंस्थामा आवद्ध बमबहादुर गलेश्वर शिवालय क्षेत्र विकास कोषको कोषाध्यक्ष समेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार