अनेरास्ववीयू म्याग्दीको प्रशिक्षण

बेनी, आइतबार  फागुन १८ गते  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववीयू म्याग्दीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम शनिबार बेनीमा सम्पन्न भएको छ ।

अनेरास्ववीयूको केन्द्रीय सदस्य प्रकाश पौडेलले हालै गठन भएको ५१ सदस्यीय जिल्ला संगठन कमिटिका पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । केन्द्रीय सदस्य पौडेलले अबको विद्यार्थी आन्दोलन शैक्षिक समानता र रोजगारमूलक शिक्षाका लागि केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

सबैले समान किसिमको गुणस्तरीय र व्यवहारिक शिक्षा हासिल गर्ने वातावरण बनाउन तथा शैक्षिक बेरोजगारको समस्या हटाउन रोजगारमुलक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, सचिव हरिकृष्ण श्रेष्ठ, प्रदेश सदस्य नवराज शर्मा र कार्यालय सदस्य बालकृष्ण सुवेदीले नेकपा नेतृत्वको सरकारले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण सुबिधा सुरु गर्नुका साथै शिक्षा नीतिमा सुधार गरेको बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसलाई क्यूएए प्रमाणपत्र दिलाएको, मंगला र ज्ञानप्रकाश माविमा नमुना विद्यालय कार्यक्रम, बिममा कृषि तथा पशुविज्ञान, बाबियाचौर र भगवतिमा बालिविज्ञान, तोरीपानीको गलेश्वर माविमा इञ्जिनियरीङ र नारच्याङको प्रभा माविमा हाइड्रो इलेक्ट्रिक विषयको पठनपाठन सुरु भएको बताउनुभयो ।

यसैगरी शिवाङको हेम मावि र शिखको शिख माविमा घरदेखि विद्यालय टाढा भएका, गरिब, विपन्न विद्यार्थीहरुलाई लक्षित गरेर गण्डकी प्रदेश सरकारले नमुना आवासीय विद्यालय स्थापना गरेको बताउनुभयो । कार्यक्रममा नेकपाका नेता सुरत केसी, कृष्णकुमार विश्वकर्मा, सन्तोष रावल, कुशल पौडेल लगायतले वर्तमान सरकारले शिक्षाको क्षेत्रमा सुधारको प्रयास गरेको बताउनुभयो ।

अनेरास्ववीयूका जिल्ला संयोजक सुवास विश्वकर्माको अध्यक्षता, सहसंयोजक रेशम कटुवालको सञ्चालन र इश्वर सुवेदीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । बक्ताहरुले आगामी स्ववीयू चुनावमा अनेरास्ववीयूलाई जिताउन तयारीमा जुट्न विद्यार्थी नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार