नेपाली कांग्रेस म्याग्दीद्धारा पहिरो पीडितलाई राहत वितरण सुरु

बेनी । अविरल वर्षासँगै आएको बाढी पहिरोमा परेर विस्थापित भएकालाई नेपाली कांग्रेस म्याग्दीले पहिलो चरणको राहत साम्रागी वितरण गरेको छ । धवलागिरी गाउँपालिका–६ मराङको कल्लेनीबाट विस्थापित भएर छिमेकी वडा ताकमको सिवाङको विद्यालयमा रहेका पहिरो पीडितलाई नेपाली कांग्रेस म्याग्दीले हेलिकप्टरबाट १ लाख १७ हजार बराबरको राहत साम्रागी हस्तान्तरण गरेको हो ।

पार्टी सभापति खम्बीर गर्बुजाको नेतृत्वमा पुगेको टोलीले खाद्यान्न, लत्ताकपडा, तरकारी लगायतका आवश्यक साम्रागी हस्तान्तरण गरेको पार्टी उपसभापति माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
सहयोग साम्रागी हस्तान्तरण कार्यक्रममा पार्टी सभापति गर्बुजाले धवलागिरी–६ मराङ र मालिका गापा–७ बिमका पहिरो प्रभावितलाई राहत सहित पार्टीमार्फत पुर्नस्थापनाको अभियानमा समेत सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।‘तपाईहरुको पीडामा सधै साथमा छु,‘थप सहयोगका लागि पहल गरिरहेको छु’ गर्बुजाले भन्नुभयो । कल्लेनीबाट विस्थापित भएका करिब ७० जनालाई अस्थायी बसोबासमा भइरहेको ब्यवस्था लगायतका बारेमा समेत जानकारी लिएको टोलीले जनाएको छ ।

टोलीमा उपसभापति रेग्मी, सहसचिव भरत रकाल, महिला संघकी अध्यक्ष बिमला गौचनको उपस्थिती रहेको थियो । त्यस्तै स्थलमार्ग हुदै गएको नेविसंघ म्याग्दीमा अध्यक्ष निर्मल खत्री सहितको टोली खाद्यान्न सहित पहिरोस्थलमा पुगेको नेविसंघकी नेतृ सुजता खत्रीले जानकारी दिनुभयो । नेपाली कांग्रेसले पार्टीमार्फत १ लाख सहयोग घोषणा गदैं थप आर्थिक सहित विभिन्न अभियान सञ्चालन गरिरहेको छ । जिल्लाभर विपद्मा परेकालाई राहत साम्रागीका लागि पार्टीले थप योजना बनाइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार