ताकममा काँग्रेस–माओवादीको संयुक्त चुनाव परिचालन समिति

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकममा आसन्न स्थानीय तह निर्वाचनका लागि बिहिबार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त चुनाव परिचालन समिति बनाएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तह चुनावमा पालिकाभर साझा उमेद्वार बनाएका काँग्रेस र माओवादीका कार्यकर्ताको भेलाले तेजेन्द्रबहादुर थापा संयोजक र बिपिन पौडेल सहसंयोजक रहेको ११ सदस्यीय संयुक्त परिचालन समिति बनाएका हुन् ।

यसैगरी रिमप्रकाश थापाको संयोजकत्वमा मतदाता शिक्षा परिचालन उपसमिति गठन भएको छ । काँग्रेसका वडा सभापति थमबहादुर पुनको अध्यक्षता र माओवादीका वडा कमिटि इञ्चार्ज किरन थापाको सञ्चालनमा भएको अगुवा कार्यकर्ता भेलामा सहभागी दुवै पार्टीकाले तालभेलालाई प्रभावकारी बनाएर चुनावी नतिजा आफ्नो पक्षमा पार्ने प्रतिवद्धता जनाएका छन् ।

नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षका उमेद्वार प्रेमप्रसाद पुन, माओवादीबाट उपाध्यक्षका उमेद्वार रेशम पुन, माओवादीबाट वडा अध्यक्षका उमेद्वार अशोक खत्री, वडा सदस्यका रामबहादुर खत्री, विरबहादुर हर्मेल बि.क., दिलकुमारी विश्वकर्मा र नरकुमारी बुढाथोकीको पनि उपस्थिति थियो ।

धवलागिरी गाउँपालिकाको सन्तुलित विकास, शुसासन, विभेदको अन्त्य र सवैको समान अधिकार सुरक्षित गराउनका लागि काँग्रेस माओवादीका साझा उमेद्वारलाई जिताउने भेलाले निर्णय गरेका छन् ।

कार्यक्रममा काँग्रेसका महाधिवेशन प्रतिनिधी याम हर्मेल र माओवादीका गण्डकी प्रदेश समिति सदस्य खुमनाथ सुवेदीको पनि उपस्थिति थियो । चुनावलाई लक्षित गरेर घरदैलो सहितको प्रचारप्रसार अभियानलाई तिब्रता दिने निर्वाचन परिचालन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार