विकास लिएर गाउँमा आउने एमाले उम्मेदवारहरुको प्रतिवद्धता

  म्याग्दी न्युज संवाददाता

बेनी । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमाले म्याग्दीबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुले गाउँमा विकास लिएर फर्किने बताएका छन् । एमाले चुनाव प्रचारप्रसार मूल कमिटीद्वारा मालिका गाउँपालिकाको विम, धवलागिरीको खिबाङ, अन्नपूर्णको शिख र घारमा आयोजित चुनावी आमसभामा बोल्दै उहाँहरुले यस्तो बताएका हुन् ।

प्रतिनिधिसभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठ, प्रदेशसभा (१)का उम्मेदवार देवेन्द्रबहादुर कटुवाल र प्रदेशसभा (२)का उम्मेदवार यामबहादुर गर्बुजाले जनताले दिएको भोटको पैंचो विकास र समृद्धिले तिर्ने बताउनुभयो । ‘नेताहरु भोट माग्न आउँछन् । चुनाव जितेर जान्छन्, त्यसपछि कहिल्यै पनि फर्केर आउँदैनन भन्ने आम मानिसहरुको गुनासो छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्रेष्ठले भन्नुभयो, ‘हामीलाई जिताएर त हेर्नुस्, जनताको आवश्यकता र समस्याहरुमा हातेमालो गर्न गाउँमा विकास लिएर आउनेछौँ’ ।

‘एमालेले जे बोल्छ त्यो गरेरै छाड्छ, हामी त्यही पार्टीका उम्मेदवार हौँ, तपाईहरुसँग झुटो बोलेर जाँदैनौं’ उम्मेदवार श्रेष्ठले भन्नुभयो । विममा रहेको कृषि प्राविधिक शिक्षालयलाई देशकै नमुना बनाउने गरी थप पूर्वाधार निर्माण र व्यवस्थापनको कार्यमा पहल गर्ने उहाँको भनाइ थियो ।

प्रदेशसभा (२)का उम्मेदवार गर्बुजाले युवालाई स्वरोजगार बनाउन कृषिजन्य उत्पादनमा जोड दिने बताउनुभयो । पर्यटन, पूर्वाधार, आधुनिक कृषि खेती, पशुपालन तथा ज्ञान, सिपमा आधारित रोजगारी र आयआर्जनका कार्यक्रमलाई प्रभावकारी कार्यान्वय गर्न पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले एमाले देशको सजिलो अवस्थामा मात्र नभई सङ्कटको अवस्थामा पनि निडरताका साथ अगाडि उभिने पार्टी भएको भन्दै यसको उदाहरण भूकम्पपछिको पुनर्निर्माण, भारतीय नाकाबन्दीको सामना, कोरोना नियन्त्रण र गुमेका नेपालको भू–भाग समेटिएको चुच्चे नक्सा सार्वजनिक गर्नेलगायत कामहरु गरेर देखाएको बताउनुभयो ।

एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले राष्ट्र र राष्ट्रियताको रक्षा गर्ने सामथ्र्य नेकपा एमालेसँग मात्रै भएको बताउनुभयो । समृद्ध नेपालको सङ्कल्प पुरा गर्नका लागि पनि मंसिर ४ गतेको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई मतदान गरी विजयी बनाउन मतदाताहरुलाई उहाँले अनुरोध गर्नुभयो । सभामा एमाले गण्डकी प्रदेश कमिटी सदस्य सुवास विश्वकर्मा, रेशम भण्डारी, जिल्ला कमिटी उपसचिव थमसरा पुन, सचिवालय सदस्य खरमाया बिटालु, धवलागिरी गाउँपालिका कमिटी अध्यक्ष रेशम छन्त्याललगायत नेताहरुले भोटको अपिल गर्नुभएको थियो ।

त्यस्तै अन्नपूर्ण गाउँपालिकाको शिख र घारमा भएको चुनावी सभामा प्रदेशसभा (१)का उम्मेदवार देवेन्द्रबहादुर कटुवालले अन्नपूर्ण गाउँपालिकालाई हाईड्रो हवको रुपमा विकास गर्नका लागि आवश्यक पहल गर्ने बताउनुभयो । यो क्षेत्रबाट जति सक्दो धेरै विद्युत उत्पादनको लागि आयोजनाहरु सञ्चालन गर्ने र त्यसबाट स्थानीयलाई रोजगार लगायतका फाइदा पुग्ने बताउनुभयो ।

उम्मेदवार कटुवालले सडक, शिक्षा, पर्यटन लगायतको विकासमा अग्रणी भूमिका निभाउँदै जनताको आवश्यकता र चाहनालाई पुरा गर्ने विश्वास दिलाउनुभएको छ । मंसिर ४ गते सूर्य चिन्हमा भोट गर्न आग्रह गर्दै उहाँले पाँचवर्ष जिल्ला समन्वय समितिको प्रमुख भई काम गर्दाको अनुभवको आधारमा आफ्नो क्षेत्रको समृद्धिका लागि अहोरात्र लाग्ने पनि प्रतिबद्धता जनाउनुभयो ।

सोही सभालाई सम्वोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य थममाया थापाले एमालेको सरकार हुँदा म्याग्दी जिल्लालाई हिमाली जिल्लामा नामाकरण गरिएको, विभिन्न रणनीतिक सडकहरु निर्माण भएको, उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको स्तरीकरण, विद्युत, खानेपानी, जनता आवास निर्माण, विद्यालय तथा स्वास्थ्य चौकीहरुको भवन निर्माण, पर्यटन पूर्वाधार निर्माणलगायत विकासका कार्यहरु जिल्लामा भएको बताउनुभयो । रहरलाग्दो विकासका काम गर्ने भरलाग्दो पार्टी एमाले भएकाले मंसिर ४ को निर्वाचनमा एमाले र एमालेका उम्मेवादरको पक्षमा मतदान गर्न उहाँले अनुरोध समेत गर्नुभएको थियो ।

कार्यक्रममा अनेरास्ववियु गण्डकी प्रदेशका संयोजक प्रकाश पौडेल, राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको संयोजक शिशिर शाहीलगायत युवा नेताहरुले सम्बोधन गर्दै नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुलाई सूर्य चिन्हमा मतदानसहित भारी मतले विजयी गराउन आह्वान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार