प्रकाशकीय : म्याग्दी न्युज डटकम आठौं बर्षमा प्रवेश

म्याग्दी । ग्लोबल म्याग्दी मिडिया प्रा.लि.द्धारा सञ्चालित अनलाइन समाचार पोर्टल म्याग्दी न्युज डटकम ८ औं बर्षमा प्रवेश गरेको छ । ७ बर्ष अघि २४ फागुन अर्थात आजकै दिन हामी साझा आवाजको रुपमा आएका थियौं । वार्षिकोत्सवका अवसरमा सम्पूर्ण पाठक, शुभेच्छुक र सहयोगीहरूमा हृदयदेखि नै शुभेच्छा प्रकट गर्न चाहन्छौं । मोफसलमा सञ्चालित अनलाइन डिजिटल पत्रिका यहाँहरुको माया, साथ एवं सहयोगले नै हामी आज सातौं बर्ष पार गर्न सफल भएका हौं ।

०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो । ७ बर्षे यात्रामा हामीले अनेक उत्तारचढाव भोगेका छौं । र, त्यसलाई कुशलतापूर्वक छिचोल्दै आएका पनि छौं । सांघुरो बजार र जनशक्ती अभाव संगै आर्थिक चुनौती थपिएको छ ।भौगोलिक कुनै सिमा नभएको अनलाइन पत्रकारीतालाई प्रविधिमा आएको व्यापकताले आम मानिसको अनिवार्य जीवनशैलीझैँ बनाइदिएको छ ।पल–पलमा सूचना प्रवाहित गर्ने, विश्लेषण गर्ने र निकायहरूलाई जिम्मेवार बनाउने दिशामा यो विधाले अहं भूमिका निर्वाह गरेको हुन्छ ।

संघियता ,गणतन्त्र, राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताको सवालमा हामी प्रतिबद्ध छौं । राज्यका निकायहरू, राज्य सञ्चालकहरू, कर्मचारीतन्त्रलाई जवाफदेही र उत्तरदायी बनाउन प्रयासरत रहनेछौँ ।पत्रकारिताका मूलभूत सिद्धान्तलाई आत्मसाथ गर्दै नागरिक अधिकारको पक्षमा निरन्तर पैरवी गर्नेछौ । लुकेका र लुकाईएका कुराहरु उजागर गर्दै समुन्नत समाजको निर्माणमा खबरदारी र साझेदारी गरेर हामी अगाडी बढ्नेछौं । डिजिटल अक्षर, स्वर, तस्बिर र श्रव्यदृश्यको माध्यमबाट हामी वर्तमानको अभिलेख राख्छौँ ।

सुगम देखि दुर्गमसम्म,सहरदेखि गाउँसम्मका सबैखाले मुद्दाहरुमा विशेष केन्द्रित म्याग्दी न्युज डट्कममा ताजा समाचार, खोजमूलक रिपोर्टहरुका अतिरिक्त शिक्षा, विज्ञान प्रविधि, साँस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकूद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरु पोस्ट हुन्छन् । कसैप्रति आग्रह/ पूर्वाग्रह नराखी सत्यतथ्यमा आधारित व्यावसायिक पत्रकारितामा हामिले जोड दिंदै आएकोे कुरा पुनःआमपाठकसमक्ष दोहो¥याउन चाहन्छौं ।

अनलाइन पत्रकारिता मार्फत म्याग्दी जिल्ला भित्रका विकृति विसंगति संगै लुकेको र लुकाइएको हरेक खबरहरुलाई निरन्तर सम्प्रेषण गर्नेछौं । आगामी दिनमा म्याग्दी न्युज डटकमलाई थप पुरस्कृत र सशक्त बनाउँदै लैजानेछौं । अन्त्यमा म्याग्दी न्युज डट्कमप्रति यहाँहरुले देखाउनुभएको सदाशयताको कदर गर्दै सुझाव र सहयोगको अपेक्षासहित सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार