लुलाङवासी भन्छन् ‘बाह्रै महिना यातायात सुविधा चाहियो’

  म्याग्दी न्युज संवाददाता

लमसुङ । गत हिउँदमा सडक सञ्जालमा जोडिएको म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर २ को लमसुङ र लुलाङ बर्खा लागेसँगै यातायात सञ्जालबाट बिच्छेद भएको छ । गाउँपालिकाको केन्द्र मुना देखि वडा नम्बर २ को खोरीया–लमसुङ हुदै गुर्जा जोड्ने सडकले लुलाङ गाउँ काटेको छ । सडकमा लमसुङमा दरखोला, वडा नम्बर ३ को कालुङ, महखोलामा बाढी आएको र सडकमा हिलो जमेकाले मुना देखि लुलाङ जोड्ने सडकमा नियमित सिधा यातायात सञ्चालन हुन छाडेको स्थानीय राजकुमार बिकले बताउनुभयो ।

“पुल नबनाए र घुमाउरो तथा साँघुरो सडक विस्तार नगरेसम्म बाह्ै महिना सहज र सुरक्षित रुपमा यातायात सेवा नपाइने भयो,” गाउँपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयले शनिबार लमसुङमा आयोजना गरेको सार्वजनिक सुनुवाईमा खोरीयाका मोतिप्रसाद पाईजाले भन्नुभयो “कालुङखोला, महखोला र दरखोलामा जति सक्छो छिटो पुल हाल्नुपर्ने तथा कालुङखोला नजिकैको पहिरो पन्छाउनुपर्ने देखियो ।”खोरीयाका तेजिन्द्र पाइजाले यातायात सेवालाई सहज, सुरक्षित, भाडादर समायोजनका साथै गुर्जा र जलजला हुदै ढोरपाटनसँग सडक सञ्जालमा जोड्ने योजनालाई तिब्रताका साथ कार्यान्वयन गर्न माग गरेका थिए ।

यसैगरी गाईगोरुमा महामारीको रुपमा फैलिएको लम्पि स्किन रोग नियन्त्रणका लागि भ्याक्सिन र औषधीको ब्यवस्था, भनेको समयमा कृषि प्राविधिकको सेवा उपलब्ध गराउन स्थानीय कृष्णबहादुर गौचनले माग गर्नुभयो । लुलाङका कृष्ण बिकले एकै व्यक्तिले धेरै पटक एउटै उपभोक्ता समितिको नेतृत्व गर्न नपाउने नीतिगत व्यवस्था गरेर सबैले अवसर पाउने व्यवस्था मिलाउन सुझाव दिनुभयो । लुलाङकै बलमान बिकले लागत अनुमान भूगोल अनुसार नहुँदा दुर्गमका उपभोक्ता समितिहरु ढुवानी भाडाका कारण मर्का र समस्यामा परेका बताउनुभयो ।

लुलाङकी रतिमा बिकले स्वास्थ्य संस्था टाढा हुँदा सेवा लिन असहज भएको र राजकुमार बिकले बिग्रिएको प्रिन्टर नबनाउँदा वडा कार्यालयबाट जन्मदर्ता गर्न समस्या भएको गुनासो गर्नुभयो । खकप्रसाद बिकले लुलाङमा खेलमैदान नहुँदा विद्यालयमा गएर खेल्दा विद्यार्थीको पढाईमा असर परेको बताउनुभयो ।स्थानीयबासीले गरेका प्रश्नको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, वडा अध्यक्ष अकप्रसाद बिक र वडा सचिव गिरिराज शर्माले जवाफ दिनुका साथै प्रतिवद्धता जनाउनुभयो । गाउँपालिका अध्यक्ष पुनले यसपाली लुलाङ हुदै गुर्जा जोड्ने सडकलाई संघ, प्रदेश र पालिकाबाट रु. दुई÷दुई करोड, ढोरपाटन जोड्ने सडकलाई डेढ करोड, दरवाङ–मुना जोड्ने सडकलाई पाँच करोड र लमसुङको दरखोलामा मोटरेबल बनाउन प्रदेशबाट रु. असी लाख छुट्टीएको जानकारी दिनुभयो । लमसुङ पहिरो नियन्त्रणका लागि रु. एक करोड बिनियोजन भएको जानकारी दिनुभयो ।

 

“गुर्जा र ढोरपाटनलाई सडक सञ्जालले जोड्ने योजनालाई तीनै तहको सरकारले प्राथमिकता दिएका छौ, आएका योजना कार्यान्वन भयो भने धेरै सुधार र सहज हुन्छ,” उहाँले भन्नुभयो “नयाँ सडक बनाउने भन्दा पनि अब बनेका सडकलाई स्तरोन्नति गरेर नियमित यातायात सञ्चालन गर्न गाउँपालिकाले प्राथमिकताका साथ काम गर्छौ । संघ र प्रदेशबाट भित्रिएका आयोजना कार्यान्वयन गराउन सबै जुट्नुपर्छ ।”

उपाध्यक्ष पुनले केही उपभोक्ता समितिले गैरजिम्मेवार र लापरबाही गरेका, पालिकाको आफ्नै दररेट बनाउन लागिएको, कृषि र भेटेरीनरीका प्राविधिकलाई वडामै बसेर नियमित सेवा दिन लगाउने, लम्पी स्किन विरुद्धको औषधी सहित प्राविधिक परिचालन गरेको र सडकलाई व्यवस्थित बनाउन केन्द्रित भएको बताउनुभयो । वडा कार्यालयको प्रिन्टर मर्मत र कम्युटर मार्फत सेवा दिने व्यवस्था मिलाउने प्रतिवद्धता जनाउनुभयो ।

वडा अध्यक्ष बिकले धेरै मेहनतपछि लुलाङमा सडक पुगेको, एक घर एक धारा सहितको खानेपानी आयोजना, वडा कार्यालय भवन बनेको र आगामी वर्ष खोरीया र लमसुङमा नेवा संस्थासँग समन्वय गरेर खानेपानी आयोजना बनाउन लागिएको बताउनुभयो । अवदेखि वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिने जानकारी गराउदै लुलाङको खेलमैदान बनाउन रु. पाँच लाख बिनियोजन भएको बताउनुभयो ।

वडा सचिव शर्माले प्रिन्टर मर्मत गर्ने आर्थिक स्रोतको कमीले वडामा जन्मदर्ता गर्न नसकिएको र पालिकामा गएर अनलाईन दर्ता गराउनुपरेको बताउनुभयो । उहाँले केही योजना तथा कार्यक्रमहरु संघीय सरकारले बजेट कटौति गरेपछि कार्यान्वयन नभएको बताउनुभयो । सो अवसरमा गाउँपालिकाका अध्यक्ष पुनले ५ कोठे, एक तले वडा कार्यालय भवन उद्घाटन गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सचिव सन्तोष गौतमले सार्वजनिक सुनुवाईको सहजिकरण गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार