घुम्ती शिविरबाट धवलागिरीका २०७ जना अपाङ्ग लाभान्वित

  म्याग्दी न्युज संवाददाता

बेनी। म्याग्दीको धवलागिरी गाउँपालिकाले परिचयपत्र र सहायता सामग्री वितरण गर्न सञ्चालन गरेको घुम्ति शिविरबाट २०७ जना अपाङ्गता भएका सर्वसाधारण लाभान्वित भएका छन् ।

५ वटा वडामा आयोजना गरिएको घुम्ति शिविरमा ७७ जनालाई अपाङ्गता परिचयपत्र र १३० जनालाई सहायता सामग्री वितरण गरिएको हो । शारिरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडा स्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले जानकारी दिनुभयो ।

वडा २ मा ५ जना, वडा नम्बर ३ मा १४ जना, वडा नम्बर ४ मा १४ जना, वडा नम्बर ६ मा ८ जना र वडा नम्बर ७ मा ३६ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । ९५ जना अपाङ्गलाई लठ्ठी, ५ जनालाई वैशाखी, ९ जनालाई वलाइन्ड स्टिक (ह्वाइट क्यान), ६ जनालाइ कम्बोड कुर्ची र १५ जनालाई कम्मर पेटी (वेल) उपलब्ध गराइएको छ ।

अर्को चरणमा ह्वील चियर प्रयोग गर्ने अपाङ्गताहरुलाई ह्विइल चियर पनि वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको कार्यालय रहेको मुना पुगेर लिनुपर्ने सेवा सर्वसाधारणले वडामै सेवा पाउँदा सहज भएको बताएका छन् ।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी, बेनी अस्पतालका चिकित्सक डा. रोशन आचार्य, वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँपालिकाका कर्मचारी देव पुन, स्वास्थ्य शाखाका सहसंयोजक अनिशा आचार्यले परिचयपत्र र सहायता सामग्री वितरण गर्नुभएको थियो ।

वडामै निवेदन संकलन गरि अपाङ्गता समन्वय समितिको बैठक बसेर निर्णय गरि परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष पुनमगरले अशक्तहरुलाई झञ्जटरहित तरिकाले परिचयपत्र उपलब्ध गराउन वडामा पुगेको बताउनुभयो ।

अपाङ्गता भएका नागरिकहरुले परिचयपत्रको आधारमा सार्वजनिक यातायात लगायत क्षेत्रमा पाउनुपर्ने छुट सुविधा नपाएको विषयमा गाउँपालिकासँग गुनासो गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार