गाउँपालिकाले गुणस्तरिय शिक्षामा जोड दिएको छ ः अध्यक्ष रोका मगर

बेनी,सोमबार कात्तिक १८ गते ।
म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले गाउँपालिकाले गुणस्तरीय शिक्षामा जोड दिएको बताउनुभएको छ । शुक्रबार मालिका गाउँपालिका–४ च्युरिबोटमा रहेको सिद्धार्थ माविद्धारा आयोजित आर्थिक सहयोगदाता विदेशी संस्था नमस्ते ईन्फान्त डी हिमालय फ्रान्सलाई स्वागत तथा सम्मान कार्यक्रमलाइ सम्बोधन गर्नुहुँदै अध्यक्ष रोका मगरले यस्तो कुरा बताउनुभएको हो ।


अध्यक्ष रोका मगरले गाउँपालिका भित्र शैक्षिक क्षेत्रलाई गुणस्तरिय बनाउन विभिन्न कार्यक्रमको थालनी गरेको जानकारी दिनुभयो । उहाँले शैक्षिक क्षेत्रमा सबैको समान पहुँच बढाउन गाउँपालिकाले जोड दिएको बताउनुहुँदै सरकार संगै समुदाय ,शिक्षक ,विद्यालय र अभिभावक विचमा सहकार्य आवश्यक रहेको बताउनुभयो ।

लामो समयदेखी विद्यालयलाइ आर्थिक सहयोग गर्दै आएको सो विदेशी संस्थालाई सहयोगका लािग अध्यक्ष रोका मगरले धन्यवाद दिनुभयो ।
राज्यको दायित्व संस्थाले बहन गरेको बताउनुहुँदै उहाँले सहयोगलाई सहयोग सही सदुपयोग गर्न आग्रह गर्नुभयो । न्युन दरबन्दी तथा आर्थिक अभाव रहेका विद्यालयमा संस्थाले पु¥याएको योगदान अतुलनिय रहेको अध्यक्ष रोका मगरको भनाइ छ । साथै संस्थाको हरेक कार्यक्रममा गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।


शिक्षामा सबैको समान पहुँच बढाउन र गुणस्तीय शिक्षाका लागि सबैले जोड दिनुपर्ने अध्यक्ष रोका मगरले बताउनुभयो । सिमित स्रोत साधनको कारण शिक्षामा पर्याप्त मात्रामा लगानी बढाउन नसकिएको उहाँको भनाइ छ । गाउँपालिका भित्र रहेका न्युन दरबन्दीका ३९ वटा विद्यालयमा जनशक्ती व्यवस्थापनका लागि गाउँपालिकाले यस बर्ष करिब ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।


‘शैक्षिक क्षेत्रलाई गुणस्तरिय बनाउन आवश्यक पुर्वाधार निर्माण संगै दक्ष जनशक्ति व्यवस्थापनलाई जोड दिइएको छ,’ अध्यक्ष रोका मगरले भन्नुभयो । ‘गाउँपालिका भित्र रहेका विद्यालयमा गुणस्तर बृद्धी गर्न यस बर्ष गाउँपालिकाबाट ३९ विद्यालयमा जनशक्ति व्यवस्थापनका लागि करिब ४० लाख रुपैयाँ बजेट विनियोजन गरेका छौं ।’


अध्यक्ष रोका मगरले गाउँपालिका केन्द्र दरबाङमा उच्च माध्यामिक तहको क्याम्पस स्थापनाको तयारीमा रहेको बताउनुभयो । सहयोगी संस्था नमस्ते ईन्फान्त्स डी हिमालय फ्रान्सकी अध्यक्ष एन्नी क्लेरी पुनले नेपालको दुर्गम भेगका विद्यालमा अध्ययनरत गरिब विपन्न तथा जेहेन्दार बालबालिकालाई सहयोग गर्न तथा सामाजिक विकास संस्थाको मुख्य लक्ष्य रहेको बताउनुभयो । सन् २००६ मा स्थापना भएको संस्थाले विद्यालयमा दुई जना शिक्षकका लागि मासिक ३५ हजार रुपैयाँ बढी सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँले च्युरीबोट संगै नेपालका अन्य ९ वटा शैक्षिक तथा अनाथलय क्षेत्रमा संस्थाले आर्थिक सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो । क्याप्टेन लक्ष्मन पुन र उहाँकी श्रीमतीको पहलमा विद्यालयलाई सहयोग गर्न सफल भएको बताउनुभयो । विदेशमा आफुहरुले कमाएको केही अंश संस्थामा बचत गरी नेपालमा सहयोग गर्दै आइरहेको उहाँको भनाइ छ ।


नेपालका दुर्गम विद्यालयका गरिब विपन्न तथा जेहेन्दार बालबालिकालाई सहयोग गर्न तथा सामाजिक विकास गर्न संस्थाले सहयोग गर्दै आइरहेको संस्था कार्यक्रम संयोजक रोसन पुनले जानकारी दिनुभयो । नेपालको दुर्गम भेगका शैक्षिक तथा सामाजिक विकास संगै बाढी पिडित र भुकम्प प्रभावित क्षेत्रमा सहयोग गर्दै आइरहेको बताउनुभयो । साथै कार्यक्रम संयोजक पुनले अस्पतालको पहुँच भन्दा बाहिर रहेका आँखा रोगीका लागि आँखा शिविर संगै गरिब परिवारको जिवनस्तर उठाउन विभिन्न किसिमका रोजगारमुलक सिप क्षमता अभिबृद्धीका तालिम संचालन गर्दै आइरहेको जानकारी दिनुभयो ।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर घर्ति मगरले संस्थाको सहयोगले गर्दा नै माध्यामिक तहको विद्यालय स्थापना गर्न सफल भएको बताउनुभयो । उहाँले विद्यालयको जनशक्ती व्यवस्थापनमा संस्थाले पु¥याएको योगदान अतुलनिय रहेको बताउनुभयो । विव्यस अध्यक्ष घर्ति मगरले सहयोग रकमलाई सही सदुपयोग गरेको बताउनुभयो । आर्थिक अभावका कारण विद्यालयमा जनशक्ती व्यवस्थापन गर्न नसकिएको बताउनुभयो ।

विद्यालयका प्रअ ललितबहादुर घर्ति मगरले संस्थाको सहयोगप्रति धन्यवाद तथा आभार प्रकट गर्नुभयो । उहाँले विद्यालयमा प्रर्याप्त दरबन्दी नहुँदा विद्यालय संचालनमा समस्या हुने गरेको बताउनुभयो ।
विव्यस अध्यक्ष घर्ति मगरको अध्यक्षता, शिक्षक छकप्रसाद घर्तिको संचालन तथा शिक्षक प्रदिप पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शिव आधारभुत विद्यालयका प्रअ गोकुल घर्ति मगर लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मालिका गाउँकार्यपालिका सदस्य मनरुपा घर्ति मगर ,विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष एवम् प्रअ तमबहादुर पुन ,पुर्व अध्यक्ष झकेन्द्रमान पुन तथा संस्थाका इजावेल ,भेरोटिक ,जेरा ,मारिऐलेन ,मनकुमारी पुन लगायतको उपस्थिती रहेको थियो । सहयोगी संस्थाका पदाधिकारीहरुलाई स्थानीय आमा समुह ,विद्यालय तथा क्लबले सम्मानपत्र, नाचगान र बाजा सहित भव्य स्वागत गरेका थिए । सोही अवसरमा विधार्थीलाई फ्रान्सबाट बृद्धबृद्धाले पठाएको कपडा सहित शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार