अन्नपूर्ण गाउँपालिकाले ल्यायो ४९ करोड ७३ लाखको बजेट (तस्बिरहरु)

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ४९ करोड ७३ लाख ३६ हजार बराबरको बजेट ल्याएको छ । शुक्रबार पोखरेबगरमा आयोजना गरिएको १५ औं गाउँसभामा आगमी आर्थिक वर्ष २०७९÷८० का लागि उक्त बजेट गाउँसभाले पारित गरेको हो ।

गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले प्रस्तुत गर्नुभएको आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । चालुतर्फ ३३ करोड १५ लाख ३७ हजार चारसय, पुँजीगत तर्फ १२ करोड १७ लाख ९८ हजार ६ सय,कोषतर्फ दुई करोड ५० लाख र अनुदान तर्फ एक करोड ९० लाख रुपैयाँ बजेट बिनियोजन भएको उपाध्यक्ष पुनले बताउनुभयो ।

संघीय सरकारकारको २३ करोड १८ लाख सशर्त अनुदान, वित्तीय समानिकरण अनुदान ८ करोड ४३ लाख, संघिय सरकारबाट आउने राजश्व बाँडफाँड ८ करोड ५० लाख ९४ हजार, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान ८७ लाख ३६ हजार, प्रदेश सरकार राजश्व बाँडफाँडबाट ७ लाख ६ हजार, आन्तरिक आम्दानी एककरोड ४५ लाख र चालु आर्थिक बर्षमा खर्च हुन बाँकी एक करोड ४ रुपैयालाई बजेटको स्रोत मानिएको उपाध्क्ष तिलिजाले बताउनुभयो । स्वास्थ्य, शिक्षा, पर्यटन, भौतिक पुर्वाधार, युवा तथा खेलकुद, कृषि, खानेपानी तथा सिँचाइ, शिक्षा, वन तथा बातावारण संरक्षणका क्षेत्रलाई बजेटमा प्राथमिकता दिएको अध्यक्ष पुनले बताउनुभयो ।

आठ वटा वडाका बस्ती स्तरबाट प्राथमिकताको आधारमा छनौट भई वडाले सिफारिस गरेका योजना तथा कार्यक्रमलाई नीति, कार्यक्रम र बजेटमा समावेश गरिएको उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्माले पारित भएको नीति तथा कार्यक्रम र बजेटलाई जतिसक्दो छिटो कार्यान्वयनमा लैजाने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार