जामुनाखर्क माविमा पहिलोपटक शैक्षिक महोत्सव सञ्चालन

प्रताप बानियाँ/ म्याग्दी, बुधबार जेठ १५ । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेमा सञ्चालित जामुनाखर्क माध्यमिक विद्यालयको आयोजनामा शैक्षिक महोत्सव–२०७६ सुरु भएको छ । ‘शिक्षा, विज्ञान, प्रविधि, कला र साहित्यको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने मूल नारासहित गणतन्त्र दिवसको अवसरमा बुधबारदेखि महोत्सव सञ्चालन गरिएको हो ।

महोत्सवको अवसरमा ‘समृद्धिका लागि शिक्षा’ शीर्षकमा जिल्लास्तरीय अन्तरमावि बक्तृत्वकला र उत्प्रेरणात्मक कक्षा तथा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ । यसैगरी खुल्ला कविता प्रतियोगिता, प्रतिभा प्रस्फुटन, शिक्षासँग सम्बन्धित कार्यपत्र प्रस्तुतीकरण, टिप्पणी र शैक्षिक बहस, प्रेरक व्यक्तित्वसँगको साक्षात्कार कार्यक्रम तय गरिएको छ । त्यस्तै महोत्सवमा शिक्षा, साहित्य, संस्कृति र विज्ञान तथा प्रविधिसँग सम्बन्धित सामग्रीहरुसहित विभिन्न विद्यालयहरुले प्रदर्शनीका स्टलहरु राखेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बद्लिँदो परिस्थिति अनुसार बालबालिकाहरुलाई शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिएका थिए । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार गर्नसके शैक्षिक उपलब्धि हासिल गर्न सकिने धारणा राखे ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले नेपालमा गणतन्त्र स्थापना भएको अवसर पारेर जिल्लामा हुने अन्य महोत्सवहरुका अतिरिक्त विद्यालयको आयोजनामा शैक्षिक महोत्सव सञ्चालन गरिएको जानकारी दिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका जिल्ला सदस्य बालकृष्ण सुवेदी, नेपाली कांग्रेसका उपसभापति माधवप्रसाद रेग्मी, बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका उपाध्यक्ष लेखबहादुर हमाल, शिक्षक संघका अध्यक्ष दुर्गाराम सुवेदी, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका सचिव गोविन्द पौडेल, अनेरास्ववियु जिल्ला अध्यक्ष सुवास विश्वकर्मा र अर्थुङ्गे युवा क्लबका अध्यक्ष शिशिर शाहीले मन्तव्य राखेका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर विश्वकर्माको अध्यक्षता, सदस्य यादव सुवेदीको स्वागत र शिक्षक मदन सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार